अर्थमन्त्री वाग्ले र एडिबी अध्यक्षबीच भेट, पुनर्निर्माणमा सहयोगको आग्रह


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान तथा जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्लेले एडीबीका अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधारको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न अध्यक्ष कान्दासँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा वाग्लेले बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको तथा नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा एडीबीप्रति आभार व्यक्त गरेका थिए । विपद्का बेला एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै उनले पुनरुत्थान र पुनर्निर्माणका आगामी काममा समेत सहकार्यको अपेक्षा राखेका हुन् ।

त्यस अवसरमा एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु परिवर्तनका जोखिम सामना गर्न सक्ने पूर्वाधार निर्माण तथा दीर्घकालीन विकासका लक्ष्य हासिल गर्न आवश्यक स्रोत जुटाउने विषयलाई अर्थमन्त्री वाग्लेले एडीबीसँगको छलफलमा प्राथमिकता दिएका छन् ।