एउटा फिल्म फ्लप हुँदा ७ वटाबाट निकाल्छन्, हिट हुँदा ७ वटाबाट अफर आउँछ: पल शाहको खुलासा


काठमाडौं । नेपाली फिल्म इन्डस्ट्रीमा एउटा फिल्मको सफलता र असफलताले कलाकारको करिअरमा कति ठूलो प्रभाव पार्छ ? नायक पल शाहले यसबारे गम्भीर खुलासा गरेका छन्।

चलचित्र ‘आ बाट आमा–२’ को प्रसंगमा बोल्दै पलले एउटा फिल्म असफल हुनेबित्तिकै सातवटा फिल्मबाट निकाल्ने र एउटा फिल्म सफल हुनेबित्तिकै सातवटा फिल्मबाट अफर आउने इन्डस्ट्री रहेको बताएका छन्।

उनले भने, “एउटा फिल्म फ्लप हुनेबित्तिकै सातवटा फिल्मबाट निकाल्ने ठाउँ रहेछ इन्डस्ट्री। अनि एउटा फिल्म चल्नेबित्तिकै फेरि सातवटा फिल्मले अफर गर्ने इन्डस्ट्री हो यो।”

‘आ बाट आमा–२’ को नतिजाले आफ्नो करिअरमा पार्न सक्ने प्रभावबारे पनि पलले खुलेर बोलेका छन्। फिल्मले अपेक्षाअनुसार प्रदर्शन गर्न नसके आफूलाई इन्डस्ट्रीले कसरी हेर्छ भन्ने कुरा आफूलाई राम्ररी थाहा भएको उनको भनाइ छ।

“यदि ‘आ बाट आमा–२’ मा केही तलमाथि भइदियो भने यो इन्डस्ट्रीले मलाई कसरी फाल्छ, मलाई फेरि फिल्मबाट निकाल्छ भन्ने कुरा राम्रोसँग थाहा छ,” उनले भने।

फिल्म क्षेत्रमा टिकिरहन कलाकारले निरन्तर सफलता दिनुपर्ने दबाबसमेत उनको अभिव्यक्तिमा झल्किन्छ। पलले आफ्नो काम सफल होस् भन्नका लागि भगवान्सँग प्रार्थना गर्ने गरेको पनि बताएका छन्।

“भगवान्, प्लिज मेरो काम राम्रो भइदियोस्, भविष्य राम्रो भइदियोस्, मेरा निर्माताहरूलाई राम्रो होस्, मेरो निर्देशकलाई राम्रो होस् र कसैलाई कुरा काट्ने मौका नपाओस्,” भन्दै पलले आफू सधैँ भगवान्सँग प्रार्थना गर्ने गरेको बताए।

आफ्नो करिअरसँगै फिल्ममा लगानी गर्ने निर्माता र काम गर्ने निर्देशकको भविष्यप्रति समेत चिन्ता व्यक्त गरेका पलको यो अभिव्यक्तिले नेपाली फिल्म क्षेत्रमा कलाकारले भोग्ने असुरक्षा र सफलताको दबाबलाई उजागर गरेको छ।

पल शाह अभिनीत चलचित्र ‘आ बाट आमा–२’ ले १ लाख ३१ हजार ४९१ टिकट बिक्री गर्दै ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाइ गरेको छ।

बक्स अफिसमा राम्रो गरेपछि ‘आ बाट आमा–२’ संगै यति बेला पल शाहको अभिव्यक्तिले फिल्मको सफलतासँगै कलाकारको करिअरमा पर्ने प्रभावबारे पनि चर्चा बढाएको छ।