काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलअघि भएको विवादले नेपाली क्रिकेटमा नयाँ बहस सिर्जना गरेको छ।
वर्षाका कारण ५ ओभरमा सीमित गरिएको खेल सञ्चालन गर्ने विषयमा सुदूरपश्चिम रोयल्सले देखाएको असहमतिपूर्ण व्यवहार, टसमा भएको ढिलाइ र खेलपछिका आधिकारिक कार्यक्रममा टोलीका प्रतिनिधि अनुपस्थित भएपछि फ्रेन्चाइजको अनुशासन र खेलभावनामाथि प्रश्न उठेको छ।
मैदान खेल्न योग्य रहेको निष्कर्ष म्याच रेफ्री र अम्पायरले निकालेपछि दुवै टोलीका कप्तानबीच खेल सञ्चालन गर्ने सहमति भएको थियो। तर निर्धारित समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी टसका लागि उपस्थित नभएपछि विवाद थप लम्बिएको थियो।
लामो छलफलपछि राति ९ बजेर ५ मिनेटमा मात्र टस भएको थियो। टस जितेर बलिङ रोजेको सुदूरपश्चिमको विदेशी खेलाडी शेरफेन रदरफोर्ड मैदान प्रवेश गर्न तयार नभएपछि खेल सुरु हुनसमेत थप समय लागेको थियो।
विवाद खेलमै सीमित रहेन। खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रम र आधिकारिक पत्रकार सम्मेलनमा समेत सुदूरपश्चिम रोयल्सका कप्तान, प्रशिक्षक वा अन्य प्रतिनिधि सहभागी भएनन्।
यस घटनाले खेल अधिकारीहरूको निर्णयको सम्मान, फ्रेन्चाइजको जवाफदेहिता र प्रतियोगिताको अनुशासनमाथि प्रश्न उठाएको छ।
सुदूरपश्चिम नेपाली क्रिकेटमा खेलाडी उत्पादन, समर्थकको उत्साह र क्रिकेटप्रतिको लगावका कारण छुट्टै पहिचान बनाएको क्षेत्र हो। तर एउटा फ्रेन्चाइजको व्यवहारलाई सिंगो सुदूरपश्चिमको क्रिकेट संस्कृतिसँग जोडेर हेर्न नहुने विश्लेषण गरिएको छ।
घटनाबारे नेपाल क्रिकेट संघ (क्यान) ले म्याच रेफ्रीको प्रतिवेदन, अम्पायरको विवरण र टोली व्यवस्थापनको स्पष्टीकरणका आधारमा निष्पक्ष छानबिन गरी आवश्यक निर्णय लिनुपर्ने आवाज उठेको छ।
जित र हारभन्दा माथि खेलको सम्मान, नियमको पालना र खेलभावना हुन्छ। सुदूरपश्चिम रोयल्सले घटनाबारे स्पष्ट जवाफ दिनुपर्ने र क्यानले आवश्यक छानबिन गर्नुपर्ने विषय अहिले नेपाली क्रिकेटमा चर्चाको केन्द्र बनेको छ।

















प्रतिक्रिया