पहिरोले रोकियो कालीगण्डकी कोरिडोरको यातायात


गुल्मी । चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–२, राक्सेमा गएराति पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो ।

पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा तिहार मनाउन घर तथा गन्तव्यतर्फ हिँडेका यात्रुहरू बीच बाटोमै रोकिएका छन् । गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरातर्फ जाने र ती क्षेत्रबाट गुल्मी आउने सम्पूर्ण सवारीसाधन प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो गएको स्थानमा प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

तिहारको समयमा सडक अवरुद्ध भएपछि यात्रुहरूलाई आवतजावतमा सास्ती भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि यातायात कहिलेदेखि नियमित हुन्छ भन्नेबारे यकिन भइसकेको छैन ।

कालीगण्डकी कोरिडोर सञ्चालनमा आएयता सवारी चापका हिसाबले यो सडक जिल्लाकै व्यस्त मार्गमध्ये एक बनेको छ । यस सडकले गुल्मीसहित पाल्पा, बागलुङ, पर्वत, म्याग्दी र पोखरासम्मको आवागमनलाई जोड्दै आएको छ ।