प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको कडा प्रहार– अपराधी नभनेर के साधु भन्ने ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। द्वन्द्वकालमा १७ हजार मानिस मारेको आरोप लगाउनेहरू नै अपराधी भएको प्रचण्डको टिप्पणीप्रति प्रतिक्रिया दिँदै शाहीले उनलाई तीखो प्रश्न गरेका हुन्।

प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शाहीले ‘तपाईंलाई अपराधी नभनेर के साधु भन्ने ?’ भन्दै प्रश्न गरेका छन्। उनले द्वन्द्वकालमा ज्यान गुमाएका नागरिक, पीडित परिवार र उनीहरूले भोग्नुपरेको पीडालाई स्मरण गराउँदै प्रचण्डलाई वास्तविकता बुझ्न आग्रह गरेका छन्।

शाहीले राजनीतिक भाषण र आरोप–प्रत्यारोपभन्दा पनि द्वन्द्वबाट प्रभावित परिवारको घरमा पुगेर उनीहरूको पीडा बुझ्न प्रचण्डलाई चुनौती दिएका छन्।

उनले भनेका छन्, ‘एकपटक ती पीडित परिवारको घरमा पुगेर उनीहरूलाई सोध्नुस्, कमरेड प्रचण्डजी, तपाईं को हो भनेर ? त्यसको जवाफ तपाईंले भाषणमा होइन, ती परिवारका आँसु, पीडा र उजाडिएको संसारमा पाउनुहुनेछ।’

द्वन्द्वकालमा बालबालिकालाई समेत हतियार बोकाइएको प्रसंग उठाउँदै शाहीले निर्दोष बालबालिकाले भोग्नुपरेको हिंसाबारे प्रश्न गरेका छन्। बाल्यकालमै उनीहरूको जीवन प्रभावित हुने गरी भएका घटनाको जिम्मेवारी कसले लिने भन्ने उनको प्रश्न छ।

शाहीले मन्दिरभित्रै हत्या गरिएका पुजारी, विद्यालयमा अध्यापन गराइरहेका शिक्षक, सत्यतथ्य लेख्ने पत्रकार तथा द्वन्द्वका क्रममा ज्यान गुमाएका सर्वसाधारण नागरिकको प्रसंगसमेत उठाएका छन्।

त्यस्तै, परिवारको पेट पाल्न र छोराछोरीको भविष्य निर्माण गर्न जागिर खाएका सुरक्षाकर्मीसमेत द्वन्द्वको चपेटामा परेको उल्लेख गर्दै उनले उनीहरूको जीवन र परिवारले भोग्नुपरेको पीडाबारे प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘आखिर उनीहरूको अपराध के थियो ? उनीहरू आफ्नो परिवारका लागि बाँच्न चाहन्थे, आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्थे।’

शाहीले द्वन्द्वका क्रममा ज्यान गुमाएका नागरिक र उनीहरूका परिवारको पीडालाई राजनीतिक बहसको विषय मात्रै बनाएर बेवास्ता गर्न नहुने बताएका छन्। पीडित परिवारले न्याय, सत्य र जवाफदेहिताको अपेक्षा गरिरहेको उनको भनाइ छ।

राजनीतिको नाममा निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको घटनाबारे प्रश्न उठाउँदा प्रश्नकर्तालाई नै अपराधीको संज्ञा दिने प्रवृत्ति उचित नभएको भन्दै शाहीले प्रचण्डको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्।

उनले प्रचण्डलाई द्वन्द्वपीडित परिवारको घरमा पुगेर उनीहरूको अवस्था बुझ्न र विगतका घटनाबारे जवाफ दिन आग्रह गरेका छन्।

द्वन्द्वकालीन घटनाको सत्य निरूपण, पीडितलाई न्याय तथा संक्रमणकालीन न्यायको विषय नेपाली राजनीतिमा लामो समयदेखि बहसको विषय रहँदै आएको छ। शाहीको पछिल्लो अभिव्यक्तिले पनि द्वन्द्वकालीन घटनाको जिम्मेवारी र पीडित परिवारको न्यायसम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ।