काम नगर्ने ठेक्का रद्द गर्छौं, फास्ट ट्रयाकका लागि अब तीन वर्षभन्दा बढी समय छैनः मन्त्री लम्साल


काठमाडौं । सरकारले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्न अब तीन वर्षभन्दा बढी समय खर्चिन नसक्ने स्पष्ट पारेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार मकवानपुरस्थित महादेवटार सुरुङमार्गको ब्रेकथ्रु समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्सालले फास्ट ट्रयाक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले निर्माण व्यवसायीले आफैँ पेस गरेको संशोधित कार्यतालिकाअनुसार काम नगरेमा त्यस्ता ठेक्का तत्काल रद्द गरिने स्पष्ट पारे । आयोजना सम्पन्न गर्न थप ढिलाइ स्वीकार्य नहुने उनको भनाइ थियो ।

मन्त्री लम्सालले फास्ट ट्रयाकको काठमाडौंस्थित सुरुवाती बिन्दुमा लामो समयदेखि देखिँदै आएको जग्गा अधिग्रहण तथा रूख कटानसम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए । अब बाँकी कामका लागि अन्तिम ठेक्का प्रक्रिया तत्काल अघि बढाइने उनले बताए ।

सरकारले आर्थिक वर्ष २०८४/०८५ भित्रै फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय रणनीतिक तथा पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण मानिएको यो आयोजना लामो समयदेखि निर्माणमा भइरहेको ढिलाइका कारण चर्चामा रहँदै आएको छ ।

महादेवटार सुरुङको ब्रेकथ्रु समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत मकवानपुर पुगेका थिए ।