३५ वर्षको असफलताको दोष एमालेमाथि थोपर्न खोजिँदै छ : विष्णु पौडेल


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विगत ३५ वर्षमा देशमा केही भएन भन्ने भाष्य चिर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। एमालेको राष्ट्रिय भेलामा प्रतिवेदन प्रस्तुत गर्दै उनले ३५ वर्षको सबै दोष एमालेमाथि थोपर्ने प्रयास भइरहेको बताएका हुन्।

पौडेलले २०४७ सालदेखि अहिलेसम्मको ३५ वर्षको समग्र जिम्मेवारी एमालेले लिन नसक्ने स्पष्ट पारे। एमालेले आफ्नै नेतृत्वमा बनेका बहुमत, अल्पमत तथा संयुक्त सरकारको कामको जिम्मेवारी लिने भए पनि अन्य दलको नेतृत्वमा बनेका सरकारको सम्पूर्ण जिम्मेवारी लिन नसक्ने उनको भनाइ छ।

उनका अनुसार एमालेले विभिन्न समयमा करिब १२ वर्ष सरकारको नेतृत्व गरेको वा सरकारमा सहभागी भएको छ। त्यसैले एमालेले आफूले नेतृत्व गरेका तथा सहभागी भएका सरकारको काम र त्यसबाट प्राप्त परिणामको मात्रै जिम्मेवारी लिने पौडेलले बताए।

३५ वर्षको समग्र जिम्मेवारी एमालेको टाउकोमा थोपर्ने प्रचार प्रायोजित भएको दाबी गर्दै उनले त्यसको प्रतिवाद गर्न नेता कार्यकर्तालाई आग्रह गरे।