भारत भ्रमणमा कृषि र वनका एजेन्डा : मल आपूर्ति र प्रकोप नियन्त्रणमा जोड


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को मङ्सिर ६ गतेदेखि हुने भारत भ्रमणका लागि कृषि, वन तथा वातावरण मन्त्रालयले विभिन्न प्रस्ताव तयार पारेको छ । मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएको प्रस्तावमा रासायनिक मल आपूर्ति, कृषि अनुसन्धान, पशुपन्छी विकासदेखि सीमापार डढेलो नियन्त्रणसम्मका विषय समेटिएका छन् ।

नेपालले आगामी पाँच वर्षसम्म रासायनिक मलको नियमित आपूर्ति सुनिश्चित गर्न भारतसँग सरकार–सरकार (जीटूजी) सम्झौता गर्न प्रस्ताव गरेको छ । नेपालमै मल कारखाना स्थापना गर्न भारतीय लगानी र विशाखापट्टनम बन्दरगाहबाट बल्क कार्गो ढुवानीको अनुमति दिनसमेत आग्रह गरिएको छ ।

त्यस्तै, पशुपन्छी विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, नेपालमा ‘स्पिड ब्रिडिङ’ केन्द्र स्थापना तथा पहाडी बागवानी कार्यक्रम सञ्चालनका लागि भारतीय सहयोग मागिएको छ ।

नेपालले नेपाली कृषि उपज र जडीबुटीको भारतीय बजारमा निर्यात सहज बनाउन तथा क्वारेन्टाइनसम्बन्धी समस्या समाधान गर्न पनि प्रस्ताव गरेको छ ।

यसैगरी, सीमापार पशुपन्छीजन्य रोग नियन्त्रणका लागि संयुक्त संयन्त्र निर्माण र वन डढेलो नियन्त्रणमा तत्काल सूचना तथा तथ्याङ्क आदानप्रदान गर्ने प्रणाली विकासलाई पनि भ्रमणको एजेन्डामा समेटिएको छ ।