एमालेको चुनावी हार अस्थायी मात्रै हो : विद्या भण्डारी


काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी धक्का मात्रै भएको बताएकी छन् ।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै निराश नभई आगामी निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिन् ।

सक्रिय राजनीतिमा फर्किनुको उद्देश्य पद र सुविधाभन्दा पार्टीको वैचारिक विकास तथा संगठन सुदृढीकरण रहेको स्पष्ट पार्दै उनले आफूलाई अब कुनै पदको लोभ नरहेको बताइन् ।

भण्डारीले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्न, पार्टी कमिटीलाई चुस्त बनाउन र आलोचना तथा आत्मालोचनाको पद्धति अपनाउनुपर्नेमा जोड दिइन् ।

युवा पुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न रोजगारी तथा उद्यमशीलताका अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।