पार्टीलाई खबर नगरी विदेश जाने नेतासँग एमालेले माग्ने स्पष्टीकरण


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूले विदेश भ्रमणमा जानुअघि अनिवार्य रूपमा पार्टीलाई जानकारी गराउनुपर्ने बताएका छन्।

दुईदिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ता अनुशासित हुनुपर्ने भन्दै आफ्नो गतिविधिबारे पार्टीलाई जानकारी गराउनु जिम्मेवारी र कर्तव्य भएको बताए।

अबदेखि पार्टीलाई जानकारी नदिई विदेश भ्रमणमा जाने नेताहरूलाई स्पष्टीकरण सोधिने उनले स्पष्ट पारे। ‘कोही विदेश भ्रमणमा जाँदैछ भने पार्टीलाई जानकारी हुनुपर्छ । यदि जानकारी भएन भने पार्टीले स्पष्टीकरण सोध्छ,’ ओलीले भने।

उनले पार्टीको अनुशासन र जिम्मेवारी पालना गर्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।