हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष पक्राउ, के हो कारण ?


सुर्खेत । एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अध्यक्ष शाहीले बिहीबार गाउँपालिकाकै एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेका थिए । लामो समयदेखि पारिश्रमिक नपाएपछि माग गर्न अध्यक्षकहाँ पुगेका सिंहमाथि कुटपिट भएको बताइएको छ ।

चंखेली गाउँपालिका–४ का सिंह विगत ५–६ वर्षदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए । कुटपिटबाट घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।