मधेसका मुख्यमन्त्री सरोज यादवले आज शपथ लिँदै, बहुमत जुटाउन सकस


जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रदेशसभामा कुनै पनि दलले बहुमतको सरकार गठनका लागि दाबी पेस नगरेपछि सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री नियुक्त भए पनि यादवका लागि सरकार टिकाउनु मुख्य चुनौती बनेको छ। संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। १०३ सदस्य कायम रहेको प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५३ मत आवश्यक छ।

जसपा नेपालसँग हाल २७ सदस्यको समर्थन रहेकाले यादवले बहुमत पुर्‍याउन थप २६ सदस्यको समर्थन जुटाउनुपर्नेछ। तर, अन्य दलसँग सत्ता सहकार्यको सहमति भइसकेको छैन।

यसअघि पनि मुख्यमन्त्री भइसकेका यादवले २०८१ जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत गुमाएका थिए। दोस्रोपटक मुख्यमन्त्री बनेका उनका लागि यसपटक पनि सरकारलाई निरन्तरता दिन बहुमत जुटाउनु नै सबैभन्दा ठूलो राजनीतिक चुनौती देखिएको छ।