मन्त्रिपरिषद् बैठकका ७ महत्त्वपूर्ण निर्णय सार्वजनिक


काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि भोटेकोशी बाढीपीडितका लागि चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्नेसम्मका सात निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ६ र ७ गते हुने प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको लगत तयार गर्ने आदेश जारी गर्ने निर्णय भएको छ । सरकारले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान र अध्यादेश ल्याउने विषयमा भने कुनै निर्णय नगरेको मन्त्री तिमल्सिनाले स्पष्ट पारे ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

– चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

– अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

– नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

– राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

– ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

– राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।