काठमाडौं । अभिनेत्री पूजा शर्मा र गायक तथा अभिनेता अशोक दर्जीलाई मुख्य भूमिकामा लिएर नयाँ चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ । शुक्रबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभमुहूर्त गरेसँगै नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममार्फत चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको छायांकन मंसिर ९ गतेदेखि सुरु हुनेछ । चलचित्रमा पूजा शर्मा र अशोक दर्जीसँगै नीर शाह, समी दाहाल, पवन खतिवडा, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा र रामेश्वर रिजाललगायत कलाकारको अभिनय रहनेछ ।
टिकटकमा ‘माइली बुहारी’का रूपमा चर्चित समी दाहालले यही चलचित्रमार्फत ठूलो पर्दामा डेब्यू गर्न लागेकी छन् ।
मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन् । मिनुले यसअघि अशोक दर्जीलाई लिएर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरेकी थिइन् । ‘सेतो कोट’ उनको दोस्रो निर्माण हो ।
फणीन्द्र तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा स्टिभ शंकरको संगीत रहनेछ ।
चलचित्र घोषणा कार्यक्रममा निर्देशक शिवम् अधिकारीले नेपाली चलचित्रमा कमै उठान हुने विषयलाई मनोरञ्जनात्मक र सिनेम्याटिक शैलीमा प्रस्तुत गर्न लागेको बताए । चलचित्रमा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको उनको भनाइ छ । यसले समाजलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

















प्रतिक्रिया