राजघाटबाट बालेनको सन्देश : करुणा र निस्वार्थ सेवामै साँचो नेतृत्व


काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भ्रमणको दोस्रो दिन सोमबार राजघाटमा माल्यार्पणपछि आगन्तुक पुस्तिकामा सन्देश लेख्दै उनले करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवामै साँचो नेतृत्व निहित रहेको उल्लेख गरेका छन् ।

भगवान् बुद्धको जन्मभूमि नेपालबाट आएको सन्दर्भ जोड्दै प्रधानमन्त्री शाहले गान्धीको विरासतमा करुणा र सेवाको अमर ज्योति देखेको बताएका छन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध साझा भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै आस्था, आत्मीयता र चिरस्थायी मित्रतामा आधारित सम्बन्धलाई पारस्परिक सम्मान र विश्वासका साथ थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।