सरयू–कमला एक्सप्रेसले जोड्यो अयोध्या र मिथिलाको ऐतिहासिक सम्बन्ध : आदित्यनाथ


नयाँ दिल्ली । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या र जनकपुरधामबीच सुरु भएको ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाले नेपाल–भारतको प्राचीन सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई पुनर्जीवित गरेको बताएका छन् ।

सोमबार रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसले दुई देशबीचको शताब्दीयौँ पुरानो सम्बन्धमा नयाँ अध्याय थपेको उल्लेख गरे ।

अवध र मिथिलाबीचको परम्परागत ‘रोटी–बेटी’ सम्बन्ध स्मरण गर्दै आदित्यनाथले रेल सेवाले दुवै देशका श्रद्धालुको तीर्थयात्रा सहज बनाउने बताए । अब नेपाली श्रद्धालु अयोध्या र भारतीय श्रद्धालु जनकपुरधाम पुगेर रामलला तथा माता जानकीको दर्शन गर्न सक्ने उनको भनाइ थियो ।