काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयतालिकाअनुसार नै हुनुपर्ने बताएका छन्।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले बिहीबार आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले दुवै तहका निर्वाचन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा स्पष्ट पारे। संवैधानिक कार्यकाल र निर्वाचनको समयतालिका परिवर्तन गरी प्रदेशसभा निर्वाचन अगाडि सार्न नहुने उनको भनाइ थियो।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै ओलीले निर्वाचनमा हुने हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। निष्पक्ष निर्वाचनमा कुनै पनि दल वा उम्मेदवारको हारजीत सामान्य प्रक्रिया भएको उनको भनाइ थियो।
निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने बताउँदै उनले जनताको अभिमतको सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको उल्लेख गरे।
यसैबीच, अध्यक्ष ओलीले एमालेभित्र नीति र विचारमा एकरूपता रहेको दाबी गरे। पार्टीमा रहेर बाहिर जथाभावी बोल्ने प्रवृत्ति अब अन्त्य हुने पनि उनले बताए।



















प्रतिक्रिया