जनताका गुनासा सुन्न ऊर्जामन्त्री गण्डकी प्रदेशमा


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिँचाइ तथा ऊर्जा क्षेत्रको अवस्था र बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने भएका छन्।

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतमा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण, जलविद्युत् आयोजना र सिँचाइ आयोजनासम्बन्धी समस्याबारे जानकारी लिनेछन्।

भ्रमणका क्रममा विपद् प्रभावित नागरिकका समस्या पहिचान गर्नुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सम्भावित जोखिम न्यूनीकरणका उपायबारे पनि निरीक्षण तथा समीक्षा गरिनेछ।

स्थलगत अनुगमनबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका योजना अघि बढाइने जनाइएको छ।