भोटेकोशी बाढीपीडित बालबालिकालाई १८ वर्षसम्म सरकारको सहयोग


रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण तथा स्याहार कार्यक्रम सुरु गरेको छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट बिहीबार कार्यक्रमको सुरुवात गरिएको हो।

बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई पहिलो चरणमा आर्थिक सहायता प्रदान गरिएको छ। महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरिदिएकी छन्।

योजनाअनुसार बालिकाले १८ वर्ष पूरा नगरेसम्म परिवारमै रहेर मासिक १७ हजार ५०० रुपैयाँ सहयोग पाउनेछिन्। बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षण आवश्यक रहेका बालबालिकालाई पनि दीर्घकालीन स्याहार र भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताइन्।

उनका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकालाई सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसका लागि एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ।

मन्त्री वादीले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षित आवासलाई प्राथमिकतामा राखेर संरक्षण कार्यक्रम अघि बढाइने बताइन्। मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको र बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफसँग ५८ करोड रुपैयाँ बराबरको सम्झौता भएको पनि उनले जानकारी दिइन्।