काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार भएको खेलमा मधेश प्रदेशलाई ८० रनले पराजित गर्दै एपिएफले दोस्रो जितसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले इन्दू बर्माको ५६ र रोमा थापाको अविजित ४४ रनको मद्दतमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो । सुरुवातमै तीन रन जोड्दा तीन विकेट गुमाएको एपिएफलाई इन्दू र रोमाले ९५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै सम्हालेका थिए ।
१४४ रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो । मधेशका लागि सरस्वती चौधरीले १७ र अनुराधा चौधरीले १४ रन बनाउनु नै व्यक्तिगत रूपमा उल्लेख्य प्रदर्शन रह्यो ।
एपिएफका सुमन विष्ट र राजमती ऐरीले दुई–दुई विकेट लिए । कविता जोशी र रेखा रावलले एक–एक विकेट हात पारे ।

















प्रतिक्रिया