जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन्। इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै महराले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।
उनले आफूलाई फसाउनुको एउटा कारण अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको सहयोग संसदबाट पास नहुनु पनि भएको दाबी गरेका छन्।
यस्तो छ महराको अन्तर्वार्ता:
पत्रकार: स्वागत छ तपाईंलाई। अदालतबाट सफाइ पाउनुभयो, कस्तो अनुभव भइरहेको छ? के भन्नुहुन्छ तपाईं?
कृष्णबहादुर महरा: अब मैले चार महिना त अन्यायपूर्ण जीवन बिताएँ। तर अन्तत मैले सफाइ पाएको छु। मैले कुनै गल्ती गरेको छैन भन्ने प्रमाणित अदालतले गरिसकेको स्थितिमा आनन्द नै महशुस गरिरहेको छु मैले।
पत्रकार: सभामुखको पद गयो?
महरा: सभामुख त मैले राजीनामा दिएको छु। त्यतिखेरै प्रश्न उठ्यो मेरो विषयमा। प्रश्न उठिसकेपछि मैले मेरो खुसीले राजीनामा दिएको हो। त्यसकारण त्यो कसैको करकापले होइन कि वास्तवमा मेरो विषयमा प्रश्न त उठ्यो। प्रश्न त उठिसकेपछि म पदमा बस्न हुँदैन भन्ने कुरा म आफैंलाई लाग्यो। त्यसकारण मैले राजीनामा दिएको हो।
पत्रकार: अब तपाईंको सांसद पद के हुन्छ?
महरा: म सांसद छँदैछु। सफाइ पाइसकेपछि सांसद पद पुनर्वहाली हुन्छ।
पत्रकार: चार महिनाभन्दा बढी समय पुर्पक्षका लागि रहनुभयो होइन? कस्तो रह्यो?
महरा: चार महिना मैले वास्तवमा राज्यलाई अझ राम्रोसँग बुझें।
पत्रकार: के बुझ्नुभो?
महरा: जेल बुझें। जेलभित्र कैदीबन्दीहरूसँग मेरो सहकार्य भयो। अनि राज्यका अंगहरूमध्येमा प्रहरी प्रशासन बुझें। त्यसपछि न्यायलय बुझें। यसलाई सैद्धान्तिक रूपले त बुझेकै थिएँ। तर व्यवहारिक रूपले बुझ्ने अबसर पाएँ।
प्रतिक्रिया