एनपीएलमा सट्टेबाजीको धन्दा, भारतीय नागरिक प्रहरीको फन्दामा


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अनलाइनमार्फत सट्टेबाजी गराएको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्। उनी काठमाडौँ महानगरपालिका–१७ ठमेलमा बस्दै आएका थिए।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएल २०२६ का खेललाई लक्षित गरी केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।

उक्त सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्हालाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

एनपीएलका खेललाई लक्षित गरी अनलाइन सट्टेबाजी भइरहेको सूचनापछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।