यात्रुसहित उड्न ठिक्क परेको विमानमा २ वटा परेवा पसेपछि बबाल भएको छ । भारतको अहमदावाद विमानस्थलमा उड्न लागेको एउटा विमानभित्र परेवा फेला परेपछि केहीबेर विमानस्थल मै खैलाबैला मच्चिएको हो । शुक्रबार अहमदावादबाट जयपुरका लागि उड्न लागेको गो एयरको विमानभित्र परेवा फेला परेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘जी८–७०२’ विमानभित्र परेवा देखिएपछि यात्रु र चालक दलका सदस्य चकित भएका थिए । विमानभित्रै उक्त परेवा उड्न थालेपछि केही यात्रीले भिडियोसमेत बनाएका थिए । शुक्रबार दिउँसो ४ः३० बजे एप्रोनमा ल्याइएको उक्त विमानमा सबै यात्री चढिसकेपछि ढोका बन्द गरिएको थियो ।
४ः५० बजे ‘टेक अफ’का लागि रन वेमा पुग्नु अघि नै उक्त विमानभित्र परेवा देखिएको थियो । विमानमा सवार यात्रीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार एक यात्रीले ‘ह्यान्ड ब्याग’ राख्नका लागि ‘लगेज शेल्फ’ खोल्नासाथ परेवा निस्किएको थियो । सामाजिक सञ्जालमा रमाइलो गर्दै कतिपयले परेवामाथि प्रतिवन्ध लगाउँनुपर्ने बताएका छन् ।
परेवाका कारण विमान ३० मिनेट रोकिएको थियो । केहीबेर विमानभित्रै परेवा यता–उता उड्न थालेपछि विमानको अघिल्लो भागदेखि पछिल्लो भागसम्म परेवाले केहीबेर फन्को लगाएको देखिएको थियो । यात्रु र विमानका कर्मचारीले पनि केहीबेर परेवाको मस्ती हेरेर रमाएका थिए । ती परेवाहरु त्यहाँ कसरी पुगे भन्ने कुरा भने अनुसन्धान भइरहेको छ ।
https://twitter.com/CNNnews18/status/1233636382049890304
प्रतिक्रिया