सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाण्डौ महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । बिहीबार बिहान तीन वटा जेटले औषधि छरेका छन् ।तीनवटामध्ये एउटा बबरमहल—बानेश्वर—तीनकुने—सिनामङ्गल क्षेत्रमा खटिएको थियो भने अर्को जमल—लाजिम्पाट—पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई वसन्तपुर आसपास क्षेत्रमा केन्द्रित गरिएको थियो ।
नगर प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटाका अनुसार बिहीबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् ।४० हजार लिटर पानीमा एक सय ४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने बिहीबारको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।बुधबार वीर अस्पताल, टेकु अस्पताल सहित भित्रि शहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै ब्रुमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ।
प्रतिक्रिया