काठमाडौं – प्रधानमन्त्री बालेनको निर्देशनपछि प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाट नियन्त्रणमा लिएका पत्रकार तथा सञ्चारकर्मीहरूलाई रिहा गरेको छ ।
प्रहरीले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी, मोटिभेट न्यूजका सम्पादकसहित अन्य सञ्चारकर्मीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
सञ्चारमाध्यमका न्यूजरुममै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएपछि घटनाले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको थियो । पत्रकार पक्राउ परेको खबर सार्वजनिक भएपछि यस विषयमा विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको थियो ।
यसैबीच, प्रधानमन्त्री बालेनले घटनाबारे जानकारी पाएलगत्तै नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । साथै, समाचार कक्षमा प्रवेश गरी पत्रकार तथा सञ्चारकर्मीमाथि कुनै पनि प्रकारको धरपकड नगर्नसमेत स्पष्ट निर्देशन दिइएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको र घटनाबारे पूर्वजानकारीसमेत नभएको स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजका सम्पादकसहित नियन्त्रणमा लिइएका अन्य सञ्चारकर्मीहरू रिहा भएका छन् ।
न्यूजरुममै पुगेर पत्रकारलाई पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यमको सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ ।

















प्रतिक्रिया