भाेलि इटाली, स्पेनकाे जस्ताे लास उठाउनुभन्दा आज लठ्ठी उठाउनु नै ठीक ……(भिडियो सहित)


कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सरकारले एक साताका लागि ‘लकडाउन’ गरेको छ । आज लकडाउनको तेस्रो दिन, पहिलाे दिन मंगलबार र दोस्रो दिन बुधबारभन्दा थप सुनसान बनेको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अवज्ञा गर्दै सडकमा निस्किनेविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भइरहेका छन् । देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ । केही स्थानमा प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरी पनि परिचालित भइरहेको छ ।

लकडाउनकाे अवज्ञ गर्दै सवारी साधन चलाउनेलाई प्रहरीले नियन्त्रणमा गर्दै आएकाे छ । कतिपय ठाउँमा भने लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले लठ्ठी हानेको, उठबस गराएको, मुर्गा बनाएको भिडियाेहरू सामाजिक सञ्जालमा चर्चित छन् ।

आज लकडाउनको तेस्रो सामाजिक सञ्जालमा अर्काे भिडियाे भाइरल बनेकाे छ । भिडियाे हाे, उर्लाबारी नगरपालिकाकाे । याे भन्दा अगाडी पनि सुनसरीको इटहरी उपमहानरगपालिकाको एउटा भिडियाे भाइरल बनेकाे थियाे । उक्त भिडियाेमा एक साइकल यात्रुलाई प्रहरीले लठ्ठी हानेको थियो ।

दाेस्राे भाइरल भिडियाेमा सडकको बीचमा केही सवारी साधानहरु रोकिराखेको देखिन्छ । त्यहाँ केही सुरक्षाकर्मी र गार्ड जस्ता देखिने मानिस लौरौ नै लिएर उभिरहेका छन् ।

सुरक्षाकर्मी बाहेक मुखमा मास्क, क्याप र जिन्सको पाइन्ट लगाएर एक पुरुष पनि छन् । उनले हात तेर्साउँदै भन्छन्- ‘ए त्यो डण्ठा ले ले, छिटो ले ।’ लोरौ हात पर्ने साथ बाइकमा भएकाहरुलाई खेदाउन थाल्छन् । सडकमा निस्कनेहरुलाई ‘घर जानु घर’, ‘हिड्नु हुँदैन भन्ने थाहा छैन ?’ भन्दै उनी हातमा लठ्ठी लिएर डुलिरहेका छन् ।

त्यसरी लठ्ठीले हिर्काउँदै हिँड्ने व्यक्ति हुन्- मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो । सरकारले गरेको लकडाउनको अवज्ञ गरेपछि मेयर आफै सडमा उत्रिएका हुन् ।

‘भाेलि इटाली, स्पेनकाे जस्ताे लास उठाउनुभन्दा आज लठ्ठी उठाउनु नै ठीक’

जनताले सुरक्षकर्मीलाई नटेरेपछि आफू सडकमा उत्रिनु परेको मेयर फागोले बताए । न्यूज २४ सँग कुरा गर्दै उनले भने, ‘सुरक्षकर्मीहरुलाई टेर्ने अवस्था भइदिएन, त्यही भएर लठ्ठी उठाउनु पर्याे ।’ अहिले चाहिँ पूर्ण रुपमा लकडाउनको पालाना भएको पनि उनले बताए ।

उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो
‘मेयरले नै लठ्ठी हान्नुपर्ने अवस्था थियाे र ?’ भन्ने प्रश्नमा उनले भने, ‘लठ्ठी हान्नुपर्ने अवस्था नै आयो । अहिले मेयरले कुट्नु नहुने भनेर प्रश्न आउछ । मेरो पनि बालबच्चा, छोराछोरी छन्, मलाई पनि त घरभित्रै बस्न मन छ । तर आज एक/दुई जनाले गर्दा भोलि समाजलाई नै अप्ठ्यारोमा पार्नु भएन ।’

मेयर पनि देशकाे एउटा नागरिक भएकाे भन्दै उनले भने, ‘मेयर भनेको चाहिँ को हो ? देशको एउटा नागरिक न हो । मेयर भनेको खुट्टा हल्लाउँदै कुर्चिमा बस्ने। पेट ठूलो पार्नका लागि मिठो-मिठाे खाँदै बस्ने हाेइन ।’

एक/ दुई जनाले गर्दा भोलि इटाली, स्पेनमा जस्ताे अवस्था नआउला भन्न नसकिने उनले बताए । ‘इटाली, स्पेनमा पनि वेवास्ता गर्नाले अहिले त्यस्तो हालत भएको हाे । दिनहुँ ७ सय/८ सय मरिरहेका छन् , अहिले गाड्ने ठाउँ पनि छैनन् । हामीले पनि वेवास्ता गर्यौं भने त्यस्तै अवस्था नआउला भन्न सकिन्न,’ उनले भने ।

उनले सुरुमा सम्झाएको तर नमानेको बताए । हामीले सोधेका छौँ, ‘खाद्यान्यको लागि हो ? बिरामी हुनुहुन्छ ? अति आवश्यक काम छ ? भनेर । तर हाेइन भन्दै सडकमा निस्कन्छन्,’ उनले भने, ‘ भोलिको दिनमा इटाली, स्पेनमा जस्तो लास उठाउनु भन्दा डण्ठा हान्दा नै वेस हुन्छ ।’

विश्वव्यापी महामारीको रूप ग्रहण गरेको कोरोना भाइरसविरुद्ध सबै एकजुट हुनु पर्ने पनि उनले बताए । कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकारवाला सबै एकताबद्ध हुनुपर्ने मेयर फागोको जोड छ ।