काेराेना भगाउने उत्तर कोरियाली शुत्र: रक्सी नपिउने, लसुन, प्याज र मह धेरै खाने ! उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै देशलाई कोरोना फ्रि घोषणा गरेको छ। विश्वमा झण्डै १५ लाख जनामा कोरोना भाइरसको संक्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको बताएको हो।
उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन्। उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका संक्रमित नभेटिएको बताएका हुन्।तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन्। यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ।
तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो। सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ।
देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको संचार माध्यमहरुले दाबी गरेका छन्।
यसैबीच उत्तर कोरियाले कोरोना भाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको पनि छ । सरकारले डाक्टरको सल्लाहबिना कुनै पनि औषधी नखान र आफूलाई मनलाग्दो गरी एन्टिभाइरल औषधी पनि नखान भनेको छ ।साथै, मानिसहरुलाई रोग प्रतिरोधी क्षमता बलियो बनाउन पारम्परिक तरिका पनि पालना गर्न सुझाइएको छ ।
मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिइएको छ किनभने यसले रोग प्रतिरोधी क्षमता कम गराउँछ। साथै, उत्तर कोरियाले आफ्ना जनतालाई लसुन, प्याज र महलाई आफ्नो खानपिनमा धेरैभन्दा धेरै समावेश गर्न सल्लाह दिएको छ। यसका साथै मास्क लगाउन पनि सल्लाह दिइएको छ ।
प्रतिक्रिया