गाउँ फर्किन दिने सरकारको निर्णयमा पूर्वराजा शाहको यस्तो टिप्पणी !


महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले देशभर लकडाउन लागू गरेको छ । सरकारले तेस्रो साताका लागि लकडाउन थप्दा उपत्यकामा रहेका मजदुरहरू र अफ्ठ्यारोमा परेका व्यक्तिहरू पैदल हिँडेरै गृह फर्किन थालेका छन् । यसैलाई मध्यनगर गर्दै सरकारले शुक्रबार र शनिबारका दिन उपत्यकाबाट गृह जिल्ला फर्किन चाहेनहरूका लागि बाटो खोलिदिने निर्णय गरेको छ ।

सरकारको निर्णयपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपय प्रतिक्रिया सरकारका पक्षमा छन् भने कतिपयले सरकारले गरेको निर्णयको आलोचन गर्दै झनै जोखिम बढ्ने बताएका छन् । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सरकारले गरेको निर्णयले गाउँमा कोरोना संक्रमण फैलिए पछि उद्धार गर्न समस्या पर्ने बताएका छन् ।

सामाजिक संचाल ट्विटरमा निकै सक्रिय देखिएका पूर्वराजा शाहले सहरमा रहेकालाई दूरदराज गाउँमा पठाउँदा संक्रमणको सम्भावना र त्रास बढ्ने बताएका छन् । उनले आम नागरिक देशभित्र जहाँ भए पनि सरकारलाई यथास्थानमा उनीहरूको व्यवस्थापन गर्न सुझाएका छन् ।

‘महामारीको रूपमा रहेको कोरोना सङ्कटका घडीमा आम नागरिक देशभित्र जहाँ भए पनि सरकारले सोही स्थानमा नै सही व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ’ उनले सामाजिक संजालमा लेखेका छन् ‘शहरमा रहेकालाई दूरदराज गाउँमा पठाउँदा संक्रमणको सम्भावना र त्रास बढ्नुका साथै केही भवितब्य परे उद्धारमा संकट पर्न सक्ने तथ्यलाई नकार्न सकिन्न ।’