भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन् ।
पहिलो डोजको खोप लगाएका वा पूर्ण खोप लगाएको पर्याप्त अवधि नपुगेका मानिसहरु भाइरसका सुशुप्त बाहकको रुपमा रहने र उनीहरुले खोप नलगाएका मानिसहरुमा भाइरस सार्ने जोखिम रहने डाक्टरहरुको भनाइ छ ।खोप लगाएको केही दिनपछि नै कोभिडको लक्षण देखिने र परीक्षण गर्दा पोजेटिभ देखिने थुप्रै घटनाहरु पाइएका छन् । डाक्टरहरुका अनुसार यसरी लक्षण देखिएका संक्रमितहरु भन्दा लक्षण नै नदेखिने खोप लगाइसकेका संक्रमितहरु अन्य मानिसका लागि सबैभन्दा ठूलो जोखिमको रुपमा रहने गरेका छन् ।
खोप लगाएपछि भाइरस लाग्दैन र सर्दैन भन्ने मानसिकता हुने हुँदा उनीहरुले पर्याप्त सावधानी नअपनाउने र सोही कारणले उनीहरुबाट अन्य व्यक्तिमा भाइरस सर्ने सम्भावना अत्यधिक हुने गर्दछ । अस्पतालमा भर्ना भएका कोभिडका सिकिस्त बिरामीमध्ये अधिकांश खोप नलगाएकाहरु रहेका छन् । उनीहरुको संक्रमणको स्रोत अनेक हुनसक्छ । तर डाक्टरहरुका अनुसार उनीहरुमध्ये कतिपयमा खोप लगाइसकेका आफ्नै परिवारका सदस्यहरुबाट भाइरस सरेको छ ।
खोप लगाइसकेका तर संक्रमित बनेका त्यस्ता व्यक्तिहरुमा लक्षण नदेखिएको तर उनीहरुले धेरै मानिसहरुलाई भाइरस सारेको हुनसक्ने डाक्टरहरुको ठम्याइ छ ।














प्रतिक्रिया