इटहरीमा धेरै मूल्यमा मास्क र स्यानिटाइजर बेच्दा २ लाख जरिवाना !


वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले इटहरीका दुई औषधि पसल सञ्चालकलाई २ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

औषधि पसलेहरुले कोरोना महामारीको मौकामा एमआरपी र बिलबिजक नभएको ह्याण्ड सेनिटाइजर र मास्क बिक्री गरेर अस्वाभाविक मुनाफा राखेकोमा मंगलबार जरिवाना गरेको हो । कार्यालयले इटहरीको औषधि र औषधिजन्य वस्तुको थोक विक्रेता बिबिता सर्जिकल हाउस र होम्ताङ आयुर्वेद औषधालयलाई जरिवाना गराएको हो ।

कार्यालयका प्रमुख सन्तोष पोखरेलकाअनुसार सर्जिकल हाउसले भारतीय कम्पनीद्वारा उत्पादित ह्यान्ड स्यानिटाइजरमा एमआरपी उल्लेख नभएको र ३९ रुपैयाँमा खरिद गरी ८० रुपैयाँमा बिक्री गरी अस्वभाविक मुनाफा आर्जन गरेको देखिएकाले २ लाख रुपैयाँ जरिवाना तिराईएको हो । होम्ताङ आयुर्वेद औषधालयले स्यानिटाइजर, मास्क लगायत अन्य औषधीहरूको खरिद बिक्री गर्दा बिलबिजक राखेको नभेटिएकोले उक्त औषधालयलाई पनि २० हजार जरिवाना गरिएको पोखरेलले बताए ।