मापदण्डको खिल्ली उडाउँदै प्रधानमन्त्रीको पार्टी नै भिडभाडमा


पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै बढेको छ। सरकारले संक्रमण फैलिन नदिनको लागि भिडभाड कर्म गर्न निर्देशन जारी गरेको छ। दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जनासम्म सहभागी हुन पाउने बताउँदै आएको छ ।

तर, शुक्रबार सर्लाहीमा त्यसको ठीकविपरीत दृश्य देखियो । देशका प्रधानमन्त्री शेरबहादुर देउवा सभापति भएको पार्टी नेपाली कांग्रेसले सरकारका सबै नीति नियमलाई लत्याउँदै ठूलो भिड तथा तामझामका साथ जिल्ला अधिवेशनको उम्मेदवार घोषणा गरेको छ । कांग्रेसको उक्त भिड देख्दा लाग्थ्यो कोरोना फगत भन्नको लागि मात्र हो।

विषम परिस्थितिको सामान्य ख्यालसमेत नगरी यसरी भिडभाड गरेर उम्मेदवारी घोषणा गरिएपछि स्थानीय आश्चर्यमा परेका छन् । यसरी जिल्लाका आमनागरिकको सुरक्षालाई व्यवस्था गरेर कार्यक्रम आयोजना भइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनिरहे । आमनागरिकका लागि मात्र नियम लाग्ने हो कि भनेर स्थानीयले प्रश्न गरिरहेका थिए। यसरी भिडभाड गरेर गरिएको भेला र सभाले गाउँ समाजमा कोरोना संक्रमणको जोखिम बढाएको सरोकारवालाको भनाइ छ ।