५०० बर्ष पुरानो सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरि, मूर्ति खोज्न अनुसन्धान टोली गठन


ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए । उनले भने, ‘प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुलहरू प्रयोग गरेर खोजी सुरु गरिसकेका छौं । ’

ललितपुर महानगरको वडा नं. २७ मा रहेको मन्दिरबाट बालकुमारी माईको मूर्ति आइतबार सबेरै चोरी भएको थियो । चोरीमा संलग्नले चारवटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेका थिए ।

प्रदेश सांसद राजकाजी महर्जनले कल ट्रेसिङलगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘सुनाकोठीमा अप्रिय घटना भएको छ, सुनाकोठीबासी दुःखमा हुनुहन्छ, राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गरेर मूर्ति खोजी गर्नुपर्छ ।’

आस्थाको केन्द्र, धार्मिक, ऐतिहासिक सम्पत्तिको चोरीले सुनाकोठीबासी मर्माहत भएको प्रदेश सांसद दिनेश महर्जनले बताए ।उनले भने, ‘तदारुकता र जिम्मेवारीबोधसहित खोजीमा लागौं ।’