चोरी भएको बालकुमारी मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख रुपैयाँ दिइने


ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बितेको छ। गत आइतबार ललितपुर महानगरपालिका-२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। तर एक हप्ता बित्दा पनि मूर्ति भेटाउन सकेको छैन। मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

वडा नम्बर २७का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेको बताए। ‘शुक्रबार हाम्रो गुठीको बैठक बसेको थियो। कसैले सहयोग गर्‍यो वा सुराकी दियो भने प्रोत्साहन स्वरूप पाँच लाख रुपैयाँ सम्म गुठीले दिने निर्णय भएको हो,’ गुठीका सदस्यसमेत रहेका वडाध्यक्ष महर्जनले भने, ‘प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। अब ठ्याक्कै पत्ता लगाउन सकिसकेको छैन। हामी प्रहरीसँग लागिरहेका छौं।’ यस्तै सुराकी दिने व्यक्तिको गोपनियता पनि कायम गर्ने उनले बताए।

यसमा अनुसन्धान गर्न हाल महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ। यद्यपि अहिले केही पत्ता लागि नसकेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए। ‘हामी लागि परेका छौं। अहिले पत्ता लागिसकेको छैन,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं।’
‘उहिले चोर पत्ता लगाउन जुन देवीको कसम खुवाउँथ्यौं, आज चोरी भयो उनैको मूर्ति’