जनकपुरमा सात महिने शिशु चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुई महिला र एक पुरुषलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका वडानम्बर १० का संजित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, औरही गाउँपालिका वडानम्बर १ स्थित पौडेश्वर घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार बुधबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडानम्बर ६ स्थित महाराज सागर पोखरीको घाटबाट मोहम्मद अमिर राइनका ७ महिनाका शिशु अख्तर राइनलाई मनिषाले बोकेर फरार भएकी थिइन् ।
अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन ७ महिने शिशुसँग खेलिरहेका बेला मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई बोकेर फरार भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । घटनाको जानकारीपछि प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले मनिषसहितलाई बिहीबार जनकपुरधाम वडानम्बर १९ स्थित बेंगाशिवपुर पिपराढीमा रहेको हाँस तथा भैंसी फारम नजिकैको खेतबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको उनले बताए














प्रतिक्रिया