भारतीय नागरिकको हत्या आरोपमा दुईजना पक्राउ


भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो । प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए । २२ गते बिहान शिवनगर–जाइ सडकखण्ड नजिकै उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

पक्राउ पर्नेमा खप्तड छेङेदह गाउँपालिका-२ का राजेन्द्र बुढा र सोही ठेगानाका २० वर्षीय भुपेन्द्र बुढा छन् । प्रहरीका अनुसार गत फागुन २१ गते राति राजेन्द्रले चलाएको अटोमा पसेका मृतक र उनीहरूबीच विवाद भएपछि राति नै हत्या भएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरूले रिसको आवेगमा हत्या गरेको स्वीकारेका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।