सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका हुन्। पार्टीको गुल्मी-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधानविरूद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरे। ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रूपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले ओलीलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताए।
‘अब सजाय दिने बेला आएको छ। यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ। र, उनको बाकसमा जिरो मत पाउनुपर्छ हेर्नुस्। तब मात्रै वास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ। तपाईं, हामीले पनि संविधानको रक्षा गरेको ठहरिन्छ,’ खनालले भने। खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरूबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
प्रतिक्रिया