नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका छन्। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गरेकालाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका हुन्।
‘एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ। जसले संसदबाट हाम्रो देशविरुद्ध अपराध गरेका छन्। मालिकहरुसँग मिलेमतो गरेर यो देशलाई लिलाम गर्न खोजेका छन्। त्यो राष्ट्रघाति प्रवृत्ति, देशघाती प्रवृत्तिविरुद्ध क्रान्तिकारीहरु एकताबद्ध गर्ने अभियानमा छौं।’
विप्लवले देशभक्त र देशघातीबीच ध्रुवीकरण भएको बताए। उनले यो लडाईँमा प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुनुपर्ने धारणा राखे। सामन्तवादलाई गाउँगाउँबाट लखेटनुपर्ने भन्दै नयाँखालको विद्रोह आवश्यक रहेको उनको भनाइ छ। ‘चन्दा मागेर खाने पार्टीबाट श्रम गरेर खाने पार्टी बन्नुपर्छ। नव धनाढ्य वर्गको सत्तालाई खरानी बनाउनुपर्छ। त्यसका लागि नयाँ मोर्चा बनाउन आवश्यक छ। दलाल पुँजीवादी सत्ताका विरुद्ध लडौं। नेपाली जनताहरु परिवर्तन चाहन्छन्। गलत प्रवृत्तिसँग निर्ममतापूर्वक संघर्ष गर्न आवश्यक छ,’ उनले भने।
प्रतिक्रिया