इन्धनको मूल्य वृद्धि छिट्टै फिर्ता गर्न माग


हप्तामा दुइ पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् ।‘पेट्रोल, ग्याँस, डिजलको मूल्य वृद्धिलाई व्यवस्थापन गर्ने र मूल्य घटाउने धेरै उपायहरु थिए तर जानीजानी ती उपायहरु अवलम्बन गरिएन ।

अनुचित ढंगले मुल्य वृद्धि गरियो,’ बानियाँले भने, ‘अहिलेको मूल्य वृद्धि कृत्रिम मात्रै होइन मूल्य वृद्धिको नाउँमा उपभोक्ता लूट र बेइमानी हो ।’देशभरका पेट्रोल पम्पमा गतहप्तादेखि निगमको डिपो रित्तो पारेर पेट्रोल पम्पहरुमा तेल भरेर मूल्य वृद्धिको गरिएको पनि बानियाँले बताए छन् । केही व्यापारीलाई रातारात अर्बपति बनाउने र पेट्रोल क्षेत्र, निजी क्षेत्रलाई दिने, निजीकरण गर्ने वातावरण बनाउन निगम लागि परेको उनले बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले जनताको चुल्नै बल्न नसक्ने गरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको मूल्य वृद्धि गरिएको बताएका छन् । भारतले कर हटाएर इन्धनको मूल्य घटाइरहँदा नेपाली शासक भने मूल्य बढाएर जनतालाई कष्ट थोपर्न लागेको उनको भनाइ छ । ‘यो त सबै खाले हद पार भयो,’ मर्हजनले भने, ‘हामी सरकारलाई ज्ञापन पत्र पनि बुझाउँछौं मूल्य वृद्धिको शसक्त प्रतिकार हुन्छ ।’

खाना पकाउने ग्याँसमा गरिएको मूल्य वृद्धिका कारण विपन्न जनताको चुल्हो नबल्ने अवस्था सृजना भएको भन्दै उनले मूल्य बढाउने निगमको कार्य पारदर्शी नभएको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सनाले पेट्रोलियम मूल्य वृद्धिको उपभोक्ताले प्रतिरोध गर्नुपर्ने बताएका छन् । उनले पेट्रोलियम पदार्थमा लगाइदैं आइएको राज्यको कर हटाउन माग गरेका छन् । ‘तत्काल कर घटाएर बढेको मूल्य फिर्ता लिनुपर्छ,’ तिमिल्सिनाले भने, ‘ग्याँस र डिजेलको मूल्य वृद्धिले समग्र मूल्य वृद्धि बढ्छ । मूल्य वृद्धि फिर्ता नगरिए प्रतिरोध हुन्छ ।’

सरकारले तत्काल मूल्य घटाउने काम नगरे सशक्त आन्दोलन हुने पनि उनले बताएका छन् ।सरकारले मूल्य वृद्धि मात्रै दिएको कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले बताइन् । सरकारले बढाएको इन्धनको मूल्यका कारण समग्र मूल्य वृद्धि बढ्ने भन्दै उनले उपभोक्तामाथि ठूलो अन्यय भएको बताइन् ।