दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ? – नगर प्रहरी प्रमुख सापकोटा


काठमाडौं : महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि कारवाही हुने भएको छ । नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीमाथी थप कारवाही गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मकै बेच्दै गर्दा शुक्रबार महानगरको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।

महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका छन् ।

‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ?,’ नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे,’आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’

नगर प्ररही प्रमुख सापकोटाले कारवाही के गर्ने भने नखुलाए पनि यत्तिकै छोड्न नमिल्ने तर्क गरे ।