महेश बस्नेत भन्छन: केपी ‘बा’ र महेश ‘दाई’ भएपछि भक्तपुरका जनताले चिन्ता गर्नु पर्दैन


नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरका जनताको विकास र समृद्धिको सपना पूरा भक्तपुरनिवासी एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत भएपछि पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार सूर्यविनायक नगरपालिका–५ मा आयोजित क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुर र मुलुकै विकासको लागि एमालेको विकल्प नभएको दाबी गर्दै एमाले विकासको पर्यायवाची भएको बताए ।

उनले केपी ओली नेतृत्वको सरकारको समयमा भक्तपुरको विकास जिल्लाको लागि ऐतिहासिक भएको बताउँदै संघीय सरकारबाट मात्र २६ अर्ब रूपैयाँ भन्दा बढी बजेट ल्याई सडक, ढल, खानेपानी, विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुललगायतका साना तथा ठूला आयोजनाहरू सञ्चालन गरिएको स्मरण मतदातालाई गराए । बजेट समयले ल्याएको हो भन्ने कांग्रेसलाई आफ्नो नेतृत्वमा बनेको सरकारको १८ महिनामा कति बजेट ल्याउन सफल हुनुभयो भन्दै उनले प्रश्न पनि गरेका छन् ।

भक्तपुरका जनता सचेत रहेको भन्दै उनले एमालेले गरेको विकास र समृद्धिको यात्रालाई बुझेर सूर्यमा मतदान गर्ने विश्वास व्यक्त गरे । ‘मंसिर ४ पछि एमालेको सरकार बन्ने छ । आम नेपाली युवा तथा जनताको ‘बा’ केपी ओली प्रधानमन्त्री बन्नुहुनेछ । त्यसपछि तपाइँहरूको ‘दाइ’ वा ‘भाइ’ महेश बस्नेत सँगै हुनेछ । केपी ‘बा’ र महेश ‘दाइ’ वा ‘भाइ’ भएपछि भक्तपुरका जनताले चिन्ता गर्नुपर्दैन ।’