राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारीले निम्नवर्गलाई ऋणको भारी बोकाएर रसातलमा पुर्याउने काम भएको बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले ऋण लिन बाध्यता रहेको अवस्थामा साहुकारले लाभ लिइरहेको बताइन् । लघुवित्त र सहकारीको ऋणबारे नियमन गर्न सांसद गौतमले सरकारसँग अनुरोध गरेकी छन् ।
‘सुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय मानिसलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो । यसबाट केही हदसम्म वित्तीय कारोबार आममानिसको पहुँचमा पुगेको देख्न सकिन्छ । तर अत्यधिक मुनाफा आर्जनको निकृष्ट उद्देश्य राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत निम्न वर्गीय मानिसलाई ऋणमाथि ऋण बोकाएर रसातलमै पुर्याउने काम भइरहेको छ,’ उनले भनिन् । देशको खस्कँदो अर्थतन्त्र, बेरोजगारी र महँगीका कारण आममानिस बढ्दो मात्रामा ऋण लिन बाध्य भएको भन्दै उनले त्यही बाध्यताको लाभ उठाउँदै साहूकारहरू घरघरमै गएर बिनाधितो ऋणको प्रलोभन देखाएर आर्थिक शोषण गरेका र कतिपय ऋणीले ऋणको तनाब सहन नसकेर आत्महत्या गरेका समाचार बारम्बार आइरहेको बताइन् ।
राष्ट्र बैंकले त्यस्ता लघुवित्त र सहकारीमाथि कारबाही गर्नुपर्ने सांसद गौतमको भनाइ थियो । ‘ऋण तिर्नै नसक्ने एउटै व्यक्तिलाई पनि दर्जनौं संस्थाले ऋण दिएको पाइएको छ । राष्ट्र बैंकले सहकारी र लघुवित्त संस्थामाथि कडारूपमा नियमन र कारबाही गर्नुपर्छ‚’ उनले भनिन्‚ ‘यदि राष्ट्र बैंक आफैँले नयमन गर्न नसक्ने भए दोस्रो तहको नयमनकारी निकाय गठन गरी नियमन गर्न र वित्तीय साक्षरता बढाउने कार्यक्रम लिएर आउन सरकारलाई अनुरोध गर्दछु ।’
प्रतिक्रिया