अनलाइन टिभी नेपाल काठमाडौं, इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको जानकारी दिएको छ ।
दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । बाँकी दुईजनासमेत गरी १० जनाकै शव पहिचान भएको छ । राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ ।
यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ । त्यस्तै, आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।
अक्टोबर ७ मा हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।
प्रतिक्रिया