शान्तिपूर्ण प्रदर्शनमा मानव अधिकार संरक्षण गर्न गृहमन्त्री गुरुङको निर्देशन, अनावश्यक बल प्रयोग नगर्न आग्रह


काठमाडौँ । शान्तिपूर्ण प्रदर्शनका क्रममा मानव अधिकारको संरक्षण तथा भीड नियन्त्रणमा प्रहरीको भूमिका प्रभावकारी बनाउन आयोजित तीनदिने परामर्श कार्यशाला सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालय (UNRCO) द्वारा आयोजित ‘शान्तिपूर्ण प्रदर्शनको सन्दर्भमा मानव अधिकार प्रवर्द्धन तथा संरक्षणका लागि कानून कार्यान्वयन अधिकारीहरूको नमुना प्रोटोकल’ कार्यान्वयनसम्बन्धी कार्यशाला कार्तिक १७ देखि १९ गतेसम्म सञ्चालन भएको थियो।

कार्यशालाको समापन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले सुरक्षा निकायले बल प्रयोग गर्दा आवश्यकता, औचित्य र जवाफदेहिताका सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने बताए।

शान्तिपूर्ण प्रदर्शन नागरिकको अधिकार भएकाले त्यसको सम्मान र संरक्षण गर्नु राज्य तथा सुरक्षा निकायको दायित्व भएको सन्देश कार्यशालाले दिएको छ। प्रदर्शन व्यवस्थापनका क्रममा मानव अधिकारको सम्मान गर्दै कानुनी मापदण्डअनुसार काम गर्नुपर्नेमा पनि जोड दिइएको छ।

कार्यशालामा शान्तिपूर्ण प्रदर्शनको व्यवस्थापन, भीड नियन्त्रणका क्रममा बल प्रयोगको मापदण्ड तथा कानून कार्यान्वयन गर्ने अधिकारीहरूको जवाफदेहितासम्बन्धी विषयमा छलफल भएको थियो।