अनलाइन टिभी नेपाल काठमाडौं, नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार अदालतले सरकारले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएका हुन् । ०७२ साल असार २८ गते चेतनको हत्या गरी फरार रहेका रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध भारती शेर्पाले रिट दायर गरेकी थिइन् । भारतीले आफ्नो श्रीमानको हत्यारालाई माफी दिएर आफूसहितका पीडितलाई थप पीडा दिएको भन्दै रिट दायर गरेकी थिइन् । उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय बाँके तथा दाङ र कारागार कार्यालय दाङसहित रिगललाई विपक्षी बनाएर असोज २२ मा रिट दायर गरेकी हुन् ।
प्रतिक्रिया