पछिल्लो समय तीजका गीत धमाधम युट्युबमा सार्वजनिक भइरहेका छन् । कुनै गीतले भनेको छ, ‘झ्याप्प झ्याप्प झ्याप्प समाइदेऊ च्याप्प, गाह्रो भो मलाई’, कुनै गीतमा ‘बेपछि जम्मै फुकाउने धोको, मेरो हुनेवालालाई दिउँला बरीलाई’ भनिँदैछ । कुनैले भन्दैछ, ‘बल लाएरै हो केटा, बल लाएरै हो, टिकटकमा भाइरल त हल्लाएरै हो ।’
तीज नजिकिनुभन्दा दुईतीन महिना अघिदेखि नै गायक गायिकाहरु तीजको गीत बजारमा ल्याउन थाल्छन् । यसै क्रममा यस वर्षपनि दर्जनौँ गीत बजारमा आइसकेका छन् । अधिकांश ती तीजका गीतमा पुरुष शब्दकारले शब्द भरेका छन् । जहाँ महिलालाई वस्तुकरण गर्ने काम भएका छन् । नयाँ सार्वजनीक गीतहरुमा युट्युबमा राता सारी र गरगहनामा सजिएका महिलाहरुसँगै पुरुष मोडलले कम्मर हल्लाएका छन् । तर तीमध्ये अधिकांश गीतहरुले नेपाली संस्कृती र तीजको मर्मको धज्जी उडाएको छ । बजारमा नाम र दाम कमाउन स्त्रीद्वेस र यौनसँग जोडिएर तिजका भनिएका गीत गाइएको छ ।
के भयो कुरो त खाने हो चुरोट, कहाँ छ सलाई….झ्याप्प झ्याप्प झ्याप्प समाइदेऊ च्याप्प, गाह्रो भो मलाई….गुलेली तन्कियो, गाउँमा मादल रन्कियो, नाच्यो पुतली ।’
यी शब्दहरु हुन लोकप्रिय गायिका शान्ति श्री परियार र विशाल सोनीको स्वरमा आएको गुलेली तन्कियो बोलको नयाँ तीजको गीतको हो । तीन दिन अघि सार्वजनिक भएको यो गीतमा महानायक राजेश हमाल, गायक विशाल सोनी र कुमारी बराइलीलगायतले कम्मर हल्लाएका छन् । उत्ताउलो भिडियो र उस्तै शब्दको यो गीत तीजको न्याय गर्ने खालको छैन ।
दुईहप्ता अघि सार्वजनिक भएको नेत्र अर्यालको शब्द, भागिरथ चलाउनेको कम्पोजमा भागिरथ र कविता खत्रीले गाएको दिउँला बरिलै बोलको गीत झन अरुको अगाडी सुन्न समेत मुस्किल छ ।
यो गीतमा लोमश शर्मा र बिना राउत फिचर्ड छन् ।
यो गीतमा बिबाह अघिको शारीरिक सम्बन्धको बारेमा कुरा गरिएको छ । केटीले बिहे पछि कुमारीत्व दिउँला भन्दै छिन् यो गीतको बोलमा । यस गीतमा कविता खत्री, मायाको पोको चोखो छ चोखो, बेअघि दिन्न म लरीलरीलाई…बेपछि जम्मै फुकाउने धोको, मेरो हुनेवालालाई दिउँला बरीलाई’ भन्दै गाउँछिन् । ‘गुलाबी ओठलाई चुम्न नखोज, बिहेअघि दिन्न लरिलरि लै’ यो यहि गीतको अर्को एउटा लाइन हो ।
प्रिती आलेको आवाजमा मादलु घन्काउँदै गीत पनि तीजको मर्मलाई ठेस पुर्याउन पछि छैन । ‘लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे, फेरि किन त्यसका बाजे तीन महिने सुई लाउँछे,’ यी शब्द पनि सोही गीतमा थियो । तर ती शब्दले स्त्री चरित्रमाथी धावा बोलेपछि विवादित बनेको थियो । अहिले ती शव्द हटाइएको छ । यो गीतमा आधा गीतमा आधुनिक पहिरन र आधामा सारी लगाइएको छ । रिमिक्स शैलीको यो गीतमा पछिल्लो पुस्ताको महिलामा भएको आधुनिक र परम्परागत शैलीको समिश्रणसमेत झल्काएको छ । तर, यो गीतमा अर्को एउटा नारीद्वेस भनाइ राखिएको छ । ‘गाउँबाट चनमते भर्खर शहर झरेकी… क्यारी होला गलाभरी सुन भरेकी, रनन रन्काउँदै’
प्रीतिको स्वर तथा अभिनयमा रहेको यो गीतमा गोविन्द भट्टको शब्द भरेका हुन् । विदुर गिरीको सङ्गीत रहेको गीतमा धनबहादुर गिरीको एरेन्ज रहेको छ ।
केशर ओली र सुमन थापाको स्वरमा रहेको टिकटकमा भाइरल त हल्लाएरै हो गीत पनि विवादित गीत बनाउने दौडमा पछि परेका छन् । ‘बल लाएरै हो केटा, बल लाएरै हो, टिकटकमा भाइरल त हल्लाएरै हो’ उक्त गीतमा अभिषेक मल्ल र कोमल रोका रत्यौली शैलीमा नाचिरहेको छ ।
अर्को गीत छ चर्चित गायिका समिक्षा अधिकारी र अर्जुन सापकोटाले गाएको गीत बारुलो कुन दुलामा पस्यो ? यो गीतका केही लाइन यस्ता छन्, ‘यो मेरो जवानी तर्काइदेऊ…बैँसको प्यास मेटाइदेउ….हेरन मलाई बारुलाले डस्यो…खै त बारुलो कुन दुलामा पस्यो ?’ । यो गीतमा करिष्मा ढकाल र ओबी रायमाझी फिचर्ड छन् ।
दुईदिन अघि सार्वजनिक अर्को तीजको गीत मलाई बिस्ताराले पोल्यो झनै हेरिनसक्नु छन् । शान्ति श्री परियार र हरि गिरीको स्वरमा रहेको यो गीतको भिडिओमा सञ्चिता बालाखे र रमेश विश्वकर्माको नृत्य छ । गीतमा लगाइएका पोशाक र शब्दको कारण सबैको अगाडी बसेर हेर्न नसक्नु छ । ‘फोनमै माग्ने पप्पी, कति सारै नट्टी..मनले के के सोच्यो सोच्यो, मलाई सिरानीले घोच्यो….काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो ।’
लोक गीत नेपाली जनजीवनमा मेल खाने गीत हुन्, जुन हाम्रो मन, मुटु र माटोसँग जोडिएको हुन्छ । मायाप्रेम, दुखसुख, मिलनविछोड, मेला र उत्सवको सारथी हो लोक संगीत, जहाँ हाम्रो माटोको सुगन्ध मिसिएको हुन्छ । तीज महिलाको पर्व, तीजको गीत महिलाहरुलाई केन्द्रीत राखेर प्राय महिलाहरुले तीजको गीत गाएका हुन्छन् । विवाहित छोरी तीज मनाउँन माइत जाँदा विवाह पछिको दुख, वेदना, माइती जाँदाको खुसी तीजको गीतमा गाइन्छ । तर पछिल्ला समयका तीजका गीत र लोक गीत हेर्ने हो भने महिलाको मर्म ती गीतमा कहिँ पाइँदैन । चर्चाको भोकले गीतको माध्यमबाट अश्लीलता फैलाइरहेका छन्, हाम्रा सर्जकहरु । माथी चर्चा गरिएका गीतमा महिलाका भावना र तीज जस्तो महत्वपूर्ण चाडको सम्मान गर्नुको सट्टामा केही क्षणको मनोरञ्जन र चर्चाको नाममा तमाम नेपालीको भावनामा ठेस पुगेका छन् । के राष्ट्रका गहना भनिएका कलाकारलाई अश्लिलता फैलाउने छुट छ?
प्रतिक्रिया