मनसुन भित्रिएयता प्राकृतिक विपत्तीमा परेर १४३ को मृत्यु, ४७ जना बेपत्ता


काठमाडौं– यो वर्ष नेपालमा मनसुन भित्रिएयता प्राकृतिक विपत्तीमा परेर १४३ जनाको मृत्यु भएको छ । यो वर्ष २८ असारबाट नेपालमा मनसुन भित्रिएको थियो ।

विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी असार २८ देखि सोमबार दिउँसोसम्म १४३ जनाको मृत्यु भएको र ४७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्‌बाट कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनीमा २४ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विपद्‌मा परी १६१ जना घाइते भएका छन् भने ७१ जनाको उद्दार गरिएको छ । यो अवधिमा विपद्का घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापित भएका छन् ।

बाढीको कारण १८४ घर डुबानमा परेका छन् । २४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

६०८ वटा पशु चौपायको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।