ठमेलमा प्रहरीको विशेष अपरेशन, ५८ विदेशी नियन्त्रणमा


काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेल क्षेत्रमा स्विप अपरेशन सञ्चालन गरी ५८ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

सोमबार राति सञ्चालन गरिएको अपरेशनका क्रममा चिनियाँ र बङ्गलादेशी नागरिकसहित ५८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

नियन्त्रणमा लिइएका बङ्गलादेशी नागरिकमध्ये चार जना भिसाको प्रयोजनविपरीत नेपालमा बसेर काम गरिरहेको भेटिएको प्रहरीले जनाएको छ। उनीहरूले आईटी क्षेत्रमा काम गर्ने भिसा लिएर काठमाडौँका कपडा पसलमा काम गर्दै आएको पाइएको हो।

त्यस्तै, दुई जना चिनियाँ नागरिकको भिसा अवधि समाप्त भइसकेको भेटिएको छ। प्रारम्भिक छानबिनका क्रममा भिसासम्बन्धी समस्या देखिएका चार बङ्गलादेशी र दुई चिनियाँ गरी ६ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको एसएसपी घिमिरेले बताए।

अवैध गतिविधिमा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएका अन्य विदेशी नागरिकलाई भने प्रहरीले आवश्यक सोधपुछपछि रिहा गरेको जनाएको छ।