काठमाडौं– यतिबेला गृष्मकालिन ओलम्पिक खेल ‘पेरिस ओलम्पिक’ चलिरहेको छ । जुलाई २६ बाट फ्रान्समा सुरु भएको उक्त खेल अगस्ट ११ सम्म सञ्चालन हुँदै छ ।
ओलम्पिकको विभिन्न खेलमध्ये बिहीबार बक्सिङ खेल पनि भयो । सो खेलमा अल्जेरियाली २५ वर्षीया बक्सर इमानी खलिफ महिला ६६ केजी तौल समूहमा इटालीकी एन्जेला कारिनीविरुद्ध भिड्दै थिइन् । त्यो भिडन्तमा इमानीले कारीनीलाई ४६ सेकेन्डमै जितिन् । इमानीका दुई शक्तिशाली मुक्का कारिनीको नाकमा लाग्यो । मुक्का लाग्ने बित्तिकै कारिनीको नाकबाट धेरै नै रगत बग्न सुरु भएको थियो ।
खेलको ४६ सेकेन्डमा नै खाएको मुक्कापछि कारिनीले खेललाई छाडेकी थिइन् । कारिनीले तत्काल भनिन्, ‘यो त अन्याय नै भयो ।’ उनले इमानीसँग हात पनि मिलाइनन् । रिङमै घुँडा टेकेर रुन लागिन् ।
कारिनीले इमानीको जस्तो कडा प्रहार आफ्नो खेल जीवनमा कहिल्यै पनि नखाएको बताइन् । उनले भनिन्, ‘मैले धेरै प्रहार सामना गरेकी छु । यति कडा प्रहार मैले कहिल्यै सामना गर्नुपरेको थिएन। यो खेल जारी राख्नु असम्भव नै थियो । तर, म त्यस्तो कोही पनि होइन, जसले यो खेल गैरकानुनी छ भनेर भन्ने । प्रहार कति धेरै कडा थियो भने मैले स्पष्ट दुखाइ महसुस गरें । मैले आफ्नो शिर उच्च राखेर खेल छाडेकी छु ।’
उक्त खेलपछि अल्जेरियाली बक्सर इमानीको लैंगिकतालाई लिएर प्रश्न उठ्न थालेको छ । उनी महिला हुन् की पुरुष भन्ने विवाद भइरहेका छन् । इमानीको शरिरमा पुरुषहरुमा अधिक मात्रामा पाइने टेस्टोस्टेरोन पाइएकाले पहिलेपनि उनलाई बक्सिङका विभिन्न खेलमा सहभागी हुन दिइएको थिएन ।
यो खेलपछि विभिन्न राजनैतिक व्यक्तिले आफ्नो धारणा दिइरहेका छन् । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले भिडन्तमा दुवै खेलाडी समान हैसियतको नभएको बताएकी छन् ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले भनेका छन्, ‘मैले त महिलाको खेलबाट पुरुषलाई अलग्गै राख्थें ।’ अहिलेसम्म कसैले पनि उनलाई खेलाडी यसअघि पुरुष थिए भनेर दाबी भने गरेका छैनन् ।
आफ्नै लैङ्गिकतालाई लिएर प्रश्न उठ्दै गर्दा इमानीले भनेकी छन्, ‘यति महत्त्वको खेल जित्नु आफैंमा निकै सन्तोषजनक छ । मेरो ध्यान खेलमै मात्र छ, म पदक जित्न चाहन्छु ।’
उता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले खेलाडीको पासपोर्टमा उनको लिंगबारे जे उल्लेख छ, त्यही मान्य हुने बताएको छ । इमानीको पासपोर्टमा महिला नै उल्लेख भएको र त्यहि अनुसार खेलाउने नियम भएको आईओसीको प्रवक्ता मार्क एडम्सले बताएका छन् । उनले भनेका छन्, ‘त्यस्ता महिला पनि धेरै छन्, जसमा पुरुषको तुलनामा बढी टेस्टोस्टेरोन पाइएको छ ।’ त्यसैले टेस्टोस्टेरोेनको परीक्षणकै आधारमा उनी महिला वा पुरुष हुन् भन्न नसकिने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जनाएको छ ।
प्रतिक्रिया