राजेश हमाललाई ‘महानायक’ को भारी बोक्नु गारो भएको हो?


कुनै जमानामा नेपाली फिल्म भन्दा नै राजेश हमाल बुझिने गरिन्थ्यो । नेपाली दर्शकको मन मुटुमा बस्न सफल भएर महानायकको उपाधिसमेत पाएका राजेश हमाल लामो समयदेखि ठुलो पर्दामा देखिएका छैनन् ।

तर पनि पछिल्लो समयमा म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा भने राजेश हमाललाई दर्शकले देख्न पाइरहेका छन् । एक साता अघिमात्र राजेश हमालको नृत्य रहेको तिजको गीत ‘गुलेली तन्कियो’ सार्वजनिक भएको छ । विशाल सोनी र शान्ति श्रीको स्वरमा रहेको उक्त गीतमा प्रयोग भएका द्विअर्थी शब्द र भिडियोकाका कारण पछिल्लो समय आलोचना भइरहेको छ । महानायक राजेश हमालसहित रहेको भिडियोमा विशाल सोनी र कुमारी बराइलीसमेतको नृत्य देख्न सकिन्छ ।

महानायकको जस्तो अहोदामा बसेर तीजका मर्म पनि नबुझ्ने गीतमा आवद्ध रहेको भन्दै गायिका शान्तिश्री परियारसँगै उनीसमेत आलोचित भइरहेका छन् । कतिपयले त अब राजेश हमाललले ‘केही काम नपाएर ताइन तुईको तीजको गीतमा काम गर्न थाले’ भन्दै टिप्पणीसमेत गरेका छन् ।

पछिल्लो समयमा राजेश हमालको काम हेर्दा उनी भाइरलको पछि लागिरहेका छन् । भाइरल बाल गायिका कमला घिमिरेले गाएको र सचिन परियारको नृत्य रहेको बरको छाँयाले गीतमा उनी आयुसा गौतमसँग नृत्य गरिरहेका छन् । यस्तै दुईवर्षअघि सार्वजनिक भएको ‘नाचन कान्छी’ गीतमा उनी कयौँ युवतीसँग रोमान्टिक देखिएका छन् । ओम सुनारको लिरिक्स र अभिराज ओलीको स्वरमा रहेको उक्त हिपहप गीतमा राजेश हमाल असुहाउँदो देखिएका छन् ।

महानायक राजेश हमाल कहिले कन्सल्टेन्सीको विज्ञापन गर्दै देखिन्छन् । जहाँ उनी विदेश जानका लागि प्रोमोट गरिरहेका हुन्छन् । पछिल्लो समय उनले टिमालयन टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘यो नेपाली शीर उचाली’ सञ्चालन गरिरहेका छन् । विदेशमा रहेर पनि आफ्नै व्यवसाय गरिरहेका नेपालीको कथा भन्ने उक्त कार्यक्रमको प्रस्तोता राजेश हमाल हुँदापनि खासै चर्चा कमाउन सकेको छैन ।

कुनै जमानामा राजेश हमाललाई पोस्टरमा देखेकै भरमा उनका दर्शकले हल भरिन्थ्यो र फिल्म हिट हुन्थ्यो । ४० को दशकमा युगदेखि युगसम्ममा पहिलोपटक देखिएका उनी आफ्नो लुक्स र डाइलगका कारण नेपाली सिने जगत्को ‘सुपरस्टार’ भए । ४० र ५० को दशकमा हमालले सयौँ फिल्ममा काम गरे र अधिकांश हिट पनि भए ।

तर हमाल मुख्य भुमिकामा रहेको फिल्म ‘शकुन्लता’ फ्लप भएपछि उनी नेपाली फिल्ममा देखिएका छैनन् । तर यसबिचमा उनले अन्य फिल्ममा अभिनय गर्न साइन पनि गरेका थिए । तर नेपाली सिनेमामा चर्चा कमाउन सिनेमाको घोषणा गर्ने तर नबनाउने प्रचलनको शिकार उनी पनि भए । गत वर्ष ठूलो लगानीमा बन्ने भनिएको फिल्म ‘सत्यम्’ का लागि हमालले साइन गरे । उक्त फिल्म नबने पछि हमालले नयाँ फिल्म साइन गरेका छैनन् ।

१८ वर्षअघि चलचित्रसम्बन्धि टेलिभिजन कार्यक्रम रजतपटले राजेश हमाललाई महानायकको उपाधीले सम्मान गरेको थियो । सोलगत्तै चलचित्र प्राविधिकहरुको संगठन प्राविधिक संघले पनि हमाललाई महानायक सम्वोधन गर्दै सम्मानित गर्यो । त्यसयता राजेश हमालको संबोधनमा उनको नामअघि महानायक सम्बोधन जोडिँदै आएको छ ।
यद्यपी राजेश हमालको ‘महानायक’ उपाधि औपचारिक मान्यताप्राप्त होइन । पृथ्वीनारायण शाहलाई बडामहाराजधिराज भनेजस्तो वा लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेजस्तो उनको नाम अगाडि महानायक जोड्नै पर्ने अनिवार्यता कसैलाई छैन ।

औपचारीक नभएकाले उनलाई मन लाग्नेले महानायक र मन नलाग्नेले राजेश हमाल भनेर नै सम्बोधन गर्न सक्छन् । महानायक भनेको नायकको पनि नायक । तर यो उपाधि पाएयता हमालले नेपाली सिनेमा क्षेत्रको हितका लागि खासै केही गरेका छैनन् । कोरोनाको समयमा सारा संसार महामारी र मानसिक तनावबाट गुज्रिरहेको बेलामा उनको विरोध पनि भएको थियो । जब उनले अन्डरवयर लगाएर वर्कआउट गरिरहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरे । महानायकले कारोनाका कारण डर र त्रासमा गुज्रिरहेका नेपालीहरुलाई सन्देश दिनुको सट्टा त्यस्तो फोटो पोस्ट गरेको भनेर व्यापक विरोध भएको थियो ।