कास्की– बिमाको रकम पाउने लोभमा पोखरामा एक व्यवसायीले साथीसँग मिलेर आफ्नै पसलमा आगो लगाएका छन् । बिमाको रकम लिन आफ्नै पसलमा आगजनी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका हुन् ।
पोखरा महानगरपालिका– १७ ड्यामसाइड बस्ने वर्ष ३६ का सुजन गहतराज र पोखरा– १७ बिरौटा बस्ने वर्ष ४३ का पवन नेपाल प्रकाउ परेका हुन् ।
पोखरा– ६ नारेश्वरचोकमा एउटा घर भाडा लिएर सुजनले मुक्तिनाथ सपिङ सेन्टर सञ्चालन गर्दै आएका थिए । उक्त पसलमा १६ साउनको बिहान २ः१० बजे आगलागी भएको थियो । सूचना पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याएका थिए ।
आगालागीपछि सुजनलाई बयान दिँदै आफूले पसलमा नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भई आगो लागेको बताएका थिए । त्यसपछि प्रहरी टोलीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग सोधपुछ गर्दा इन्भर्टरबाट आगो नलाग्ने, बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफ दिएका थिए । सोपछि प्रहरीले आगोलागीको बारेमा विद्युत् प्राधिकरणसँग बुझेको थियो । विद्युत्बाट पनि कुनै कैफियत नरहेको भन्ने जवाफ प्रहरीले प्राप्त गरेपछि सुजन आफैँ शङ्काको घेरामा तानिएका छन् ।
सोपछि प्रहरीले अनुसन्धान गर्दा सुजन आफैले साथीसँग मिलेर पसलमा आगो लगाएको खुलेको हो । सुजनका साथी पवनले गत वर्ष आफूले सञ्चालन गरेको पोल्ट्री फार्ममा आगो लागेपछि इन्स्योरेन्स कम्पनीबाट ३१ लाख पाएका थिए । त्यसपछि बिमाको पैसा आउने लोभले सुजनले त्यस्तो काम गरेको अनुमान गरिएको छ ।
अनुसन्धानका क्रममा पसलमा आगो लागेको एक महिनाअघि २५ असारमा सुजनले हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट पसलको दुई करोड १० लाखबराबरको बिमा गरेको खुलेको थियो । पसलमा आगो लागेको भोलिपल्ट १७ साउनमा उनले सपिङ सेन्टरमा आगो लागेको विषयमा थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका थिए । सोही दिन उनले बिमा दाबीका लागि इन्स्योरेन्स कम्पनीमा निवेदनसमेत दिएका थिए ।
पक्राउ परेका दुवैजनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट आइतबार सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया